द ल्यारी स्टोरी
एक दिन दुइ दिन गर्दै गांउबाट फर्केको पनि निकै भएछ । जानु भन्दा अघि आफैलाइ वाचा गरेको थिए गांउमा एउटा कथा लेख्छु । शहरिया बानी, गांउलाइ सानो आंक्ने । सजिलै जित्न सकिन्छ भन्ने । शहर बसुन्जेल कथाको एउटा क्यारेक्टरको बारेमा सोच्न नसक्ने तर गांउमा पुरै कथा भेटिन्छ भन्ने कन्फिडेन्स । या शायद भनौं शहरिया कायरता । शहरमा केहि गर्न नसकेको इन्फिरीयरिटी कम्प्लेक्सलाइ गांउमा मेटाउन खोज्ने प्रयास ।
आफ्नो गांउ जाने अवसर जुरेको पनि निकै अन्तरालमा पो रहेछ । दुइ चार वर्ष मात्र भन्ठानेको त, एक दशक भैसकेको रहेछ । एक दशक… झण्डै एक कालखण्ड । धेरै परिवर्तन भैसकेको होला, शायद त्यहां चिन्ने कोही नहोला, अझ म आफैले कसलाइ पो चिनुला र भन्ने डर ।
तर अचम्म, परिवर्तन केही देखिएन । परिवर्तनको नाममा चोकमा केहि पसल थपिएछन् । प्लास्टिकका बोतलमा सिलबन्दी भएर नजीकैको शहरबाट ल्याइएको रक्सी बेच्ने तीन चारवटा टहरा बढेछन् । विकास भएछ । लक्ष्मीप्रसाद देवकोटा हुंदा हुन त ‘सुधारको नाममा उधार’ भनेर भन्थे होलान । तर लक्ष्मीप्रसाद र तिनका फिलोसोफी पनि मदिराको अगाडी टिक्न सक्ने देखिएनन् । मदिराको स्ट्रेन्थ बढी नै हुंदो हो ।
अझ गांउमा डेयरी पनि थपिएको भेटियो । दश वर्ष अघि त्यही गांउमा केही ग्वालाले घरैमा दुध ल्याइदिन्थे, अब त्यही दुधमा पानी मिसाएर डेयरीवालाले बेच्छ । कारोबार बढेछ । विकास भएछ ।
त्यही टहराको पंक्तिमा एउटा अर्को टहरा । सबैले बिहानै पसल खोल्छन् तर त्यो पसल झण्डै नौ बजेमात्र खुल्छ । मेरो पानवाला । “अर्काको जागिर हो र ? आफ्नो धन्दा हो नि,” उ भन्छ, “के को हतार ?” तर विरोधाभास छ उसको कुरामा । सांझ फर्किने बेला हतारमै हुन्छ उ । उसलाइ पहिलो राउण्डमा आउने मदिराप्रेमीले मात्र भेट्न पाउछन् । पहिलो राउण्डमा मदिरापान गर्नेहरु आफ्नो मुखबाट गन्ध हटाउने प्रयासमा उसैकहां पान खान्छन् । दोस्रो राउण्डका मदिराप्रेमीहरु आउन्जेल उ गायब भैसक्छ । शायद घरतिर ।
ल्यारी मदिराप्रेमीहरुसंग धेरै कुरा गर्न रुचाउदैन । सीधै जवाफ फर्काउछ । तर सबै उसका कुरा सुनेर उसको सेन्स अफ ह्युमरको तारीफ गर्छन् । “मलाइ यस्ता मान्छे मन पर्दैनन् । जंड्याहाहरु,” उसको बोलीमा कत्तै पनि यिनका लागि इज्जत छैन । फेरि विरोधाभस । उ रक्सी खांदै नखाने नि होइन । न्यू योर्कबाट काठमांडौ फर्किदा उसलाइ यहांको पानी मन पर्दैनथ्यो । कार्ल्सबर्ग र ट्युबर्गको स्वाद उसलाइ बढी मनपर्ने थियो ।
हो, हाम्रो ल्यारी अमेरिका रिटर्न्ड हो । अमेरिका गएरै उसको नाम ल्यारी भएको । जन्मिंदा त उ लालदेव थियो, र किशोरावस्था पार गरुन्जेल उ लालदेव ने रह्यो । तर ‘ल्याण्ड अफ ड्रीम्स’ अमेरिकाले उसलाइ ल्यारी बनाइदियो । लालदेवबाट ल्यारी हुन जति सजिलो, ल्यारीबाट लालदेव हुन त्यत्तिकै गार्हो भएको छ उसलाइ । नजीकैको कोसीमा बाढी आउदा तर्न गार्हो भएझैं । गांउका मान्छे उसलाइ त्यति मन पर्दैनन् । हुन पनि हो, अलिकति पनि पढेलेखेका गांउमा भेट्न सजिलो छैन । युवा वा भनौ काम गर्न सक्ने उमेरका धेरै त कतार दुबइ गइसके । बांकि पन्जाबतिर, केहीले शहरतिर जोडजाम गरे । गांउ त अब बुढापाका र महिलाहरु जम्मा हुने थलो मात्र रह्यो ।

जो त्यहां बांकि रहे, तिनीसंग ल्यारीको स्ट्याण्डर्ड मिल्दैन । ल्यारी आफू बराबरको कसैलाइ मान्न तयार पनि छैन । उसलाइ अंग्रेजी आउछ, उसका ग्राहकहरुलाइ आउदैन । उसंग भविष्यका लागि योजना पनि छ, बांकि आफ्ना परिवारजनले दुबइबाट पठाएको पैसा कसरी खर्च गर्ने मेसोमा हुन्छन् । “यो पसललाइ नै ठूलो पारम कि पसलै नयां बनाउ दाइ,” ल्यारी मलाइ सोध्छ । आखिर म शहरबाट आएको, अंग्रेजी पनि बोल्न आउने । धेरै दिनपछि ल्यारीको लागि कोही आफन्त आएझै भएको भयो । “आखिर बोर्डरको मार्केट हो, सामान किन्ने त धेरै आउलान नि,” ल्यारीलाइ मार्केट एनालिसिस पनि आउछ ।
ल्यारी न्यूयोर्कमा करिब दुइ वर्ष बसेको हो । अझ वर्ल्ड ट्रेड सेन्टरमाथि अल कायदाको आक्रमण हुंदा ल्यारी नजीकै थियो । आतंकलाइ नजीकबाट हेरेको अनुभव छ उसलाइ । “बाफ रे,” दश वर्ष बितीसक्दा पनि उ त्यो सीन भुल्न सक्दैन, “फिलीम हेरे जस्तो पो थियो त । देखेर केही सोच्न सक्ने अवस्था थिएन । केही दिनसम्म त काममा जान सकिएन ।”
दश वर्षपछि ल्यारी पनि अल कायदझै भएको छ । आफैंबाट विरक्तिएको । अमेरिकामा बसेको, कमाएको, जीवनका रंग देखेको । तर अहिले यो गांउमा । जहां अण्डरग्राउण्ड रेल होइन, बिक्रम टेम्पो गुड्छ । दुइ वर्षको अमेरिका बसाइले उसलाइ दिने कम, उसंग लिने बढी गर्यो । सपनाको नजीक पुर्यायो तर यथार्थमा ल्याउंदा झकझक्यो पनि । उसकी श्रीमती पनि उसंग कम बोल्छे । किनकी ल्यारी उसको लेभलको होइन । उ धेरै माथि छ, आफ्नै परिवारभन्दा पनि । अमेरिकाले ल्यारीलाइ आफ्नो जराबाट नै छुट्याइ दियो । आफै चलाउने गाडिको अब याद मात्र छ उसंग ।
खाना खाएर म चोकमा पुग्दा, उ मोबाइलबाट आफ्नो नवजात शिशुको फोटो देखाउछ र सोध्छ, “दाइ, आज नयां स्टाइलको पान बनाउं?”
यो गांउ, जहां स्थानिय नेताहरु भोलि आउदै नआउने हिसाबले विकासलाइ अवकाश दिएरहेका छन्, भविष्यप्रति ल्यारीको आशा अझै मरेको छैन । उ नयां स्टाइलले पान दिदै मलाइ भन्छ, “दाइ, अमेरिका फेरी गए भने, यो फुच्चेलाइ उतै पढाउछु ।”