विश्वकप होइन वान डे

Somesh

आधा शताब्दी अघि, यसै साता (श्रम दिवसका दिन), बेलायतका दुइ काउन्टी लंकाशायर र लिसेस्टरशायर बीचको खेल हुदा शायदै कसैले सोचेका होलान् यो प्रतियोगिताले क्रिकेटको भविष्य ने बदलिनेछ ।

प्रतियोगिता थियो जिलेट कप, जसलाइ अहिले पनि पहिलो लिमिटेड ओभर (एक दिवसीय) प्रतियोगिता मानिन्छ । हुन त वर्षाले गर्दा खेल दुइ दिन चल्यो, तैपनि यो क्रिकेटको लागि कोशेढुंगा साबित भयो । यो भन्दा अघि क्रिकेट म्याचमा प्रत्येक टीम दुइ इनिङ्ग खेल्ने गर्थे र कुनै पक्षले खेल्ने ओभरको संख्यामा सीमा तोकिएको थिएन । तर कमैलाइ मात्र थाहा होला, वास्तवमा एक दिवसीय क्रिकेटको वास्तविक आरम्भ एक वर्षअघि नै भएको थियो, २ मे, १९६२ मा, लिसेस्टरशायर र र्डर्बीशायर बीच, मिडल्याण्ड्स नक आउट कपको नाम बाट ।

क्रिकेटको यो नयाँ स्वरुपको जन्मसंगै एउटा विवाद पनि जन्मियो, एक दिवसीयले क्रिकेटको पुरानो स्वरुप, टेष्ट म्याचलाइ नै नष्ट पार्ने त्रासको । स्वाभाविक रुपले प्रारम्भदेखि नै पुरातनपनथीहरुले एक दिवसीयलाइ मन पराएनन् । तर विवादले लामो समयसम्म स्वाभाविक विकास रोक्न सक्दैन । क्रिकेट कसरी अपवाद हुन सक्थ्यो । टेष्ट क्रिकेट चलिरह्यो एक दिवसीयको आगमन पछि पनि ।

क्रिकेटको भविष्य मात्र बदलिएन, एक दिवसीयले क्रिकेटको खेलनै रीडिफाइन गरिदियो । एक दिवसीय फर्म्याटले क्रिकेटका पुराना मान्यताहरुको परिवर्तन गर्यो । परिमार्जित ब्याटीङ्ग स्टाइल, डिफेन्सिभ बलिङ्ग र आक्रामक फिल्डिङ्गका कारणले । एक दिवसीय क्रिकेटले कतिसम्म जरो गाड्यो भन्ने कुराको अनुमान यसबाट गर्न सकिन्छ कि पहिलो एक दिवसिय क्रिकेट खेलिएको १३ वर्षै यसको विश्वकप पनि सन्चालन भयो । पहिलो अन्तर्राष्ट्रिय टेष्ट म्याच भएको झण्डै एक शताब्दी भएसकेपनि टेष्ट क्रिकेटको विश्वकप हुन सकेको थिएन । कारण थियो ५ दिने फर्म्याट र महिनौसम्म चल्न सक्ने प्रतियोगिताको मार्केटीङ्गमा समस्या । समाधान जुराइदियो एउटा प्राक्टिकल फर्म्याट जो एक दिनमै परिणाम दिन सक्थ्यो ।
अहिले सम्म यसका नौ वटा विश्वकप सफलतापूर्वक सम्पन्न भैसकेका छन् । विश्वकप कुनै पनि खेलको उत्कर्ष मानिन्छ, र क्रिकेट यसमा पनि अपवाद होइन । १९७५ मा पहिलो विश्वकप भएपछि एउटा अर्को पनि शुरुआत भयो । शुरुआत एक सपनाको, जहाँ टेष्ट क्रिकेटकालागि पुर्वाधार नभएका राष्ट्रहरु पनि खेल्न सक्ने संभावना थियो । विश्वकपको पहिलो संस्करणमा इष्ट अप्रिmका र श्रीलंकाले खेलेका कारण यो सपना देख्नेहरुकालाइ अझ थप बल पुग्यो । १९९० को दशकमा आएर नेपाली क्रिकेटप्रेमी पनि यो रोगबाट अछुतो रहन सकेनन् ।

नेपाली क्रिकेटमा पछिल्लो दशक सबैभन्दा बढी सोधिएको प्रश्न होला, “नेपाल कहिले विश्वकप खेल्छ?”

२००२-३ ताका यहि प्रश्न तेर्सिएको थियो, तत्कालीन नेपाली कोच रोय डायसलाइ । कुनै बेला श्रीलंकाको ब्याटिङ्ग स्टार रहेका डायसको उत्तर थियो, “हाम्रो २००७ को विश्वकप खेल्ने लक्ष्य गलत छ, किनकी हाम्रो तयारी लक्ष्य अनुसार पुगेको छैन । हामीले २०११ को लक्ष्य लिएको भए अलि सान्दर्भिक हुन्थ्यो होला ।”

सुन्दा अलि नरमाइलो लागे पनि डायसको भनाइलाइ नेपाली क्रिकेटको त्यतिबेलाको संरचनासंग दाँज्ने हो भने बढी अर्थ लाग्छ । तयारी बिनाको लक्ष्यको खासै अर्थ रहदैन । अर्थ भएन पनि । २००७ मात्र होइन, २०११ को विश्वकप पनि क्रिकेटप्रेमीका लागि अधूरो सपना मात्र रहृयो ।

तर पछिल्लो वर्षा टीम नेपालको प्रदर्शनले फेरी पनि त्यो सपना जगाइदिएको छ । आइसीसी वर्ल्ड क्रिकेट डिभीजन थ्रीमा उक्लिनु, एसीसी ट्रफी एलिटमा संयुक्त विजेता बन्नु र पछिल्ला दिनमा टी-ट्वान्टी क्रिकेटमा नेपाली प्रदर्शनले क्रिकेट प्रेमीमात्र होइन क्रिकेट खेलाडीहरुलाइ समेत हौस्याएको छ । र विश्वकप सपना फेरी पनि जागेको देखिन्छ ।

२०११ को उत्तर्रार्द्धमा पुर्व श्रीलंका खेलाडी पुबुदु दासानायके नेपालको कोच भएर आएपछि नेपाली क्रिकेट परिवर्तित देखिएको हो । दासानायकेको क्यानाडालाइ विश्वकपमा पुर्याएको अनुभवले गर्दापनि होला आशाको संचार भएको ।

दासानायके नेपाल आएपछि यो पंक्तिकारसंगको पहिलो भेटमा उनले दुइटा कुरा भनेका थिए । पहिलो “नेपाली खेलाडी मानसिक रुपमा अलि कमजोर छन् ।” र अर्को “नेपाली क्रिकेटमा संरचनात्मक (स्ट्रक्चरल) समस्या छ ।”

पहिलो समस्याको समाधान एउटा पर्फमेन्स कोच भएको नाताले पुबुदुसंग थियो र उनले केहि हदसम्म त्यो समस्याको समाधान गरे पनि । नेपाली कप्तान पारस खड्काबाहेकका खेलाडीमा सँधै आत्मविश्वासको कमी देखिन्थ्यो । तर पछिल्लो पटक काठमांडौमा आयोजित एसीसी टी-ट्वान्टी कपमा अरु नेपाली ब्याट्सम्यानहरुले (खासगरी शरद भेसावाकर र ज्ञानेन्द्र मल्ल) क्रिजमा देखाएको कन्फिडेन्सले यो समस्या समाधानको बाटोमा भएको देखिन्छ ।

तर अर्को, नेपाली क्रिकेटको स्ट्रक्चरल समस्या ज्यूँ का त्यूँ छ । कन्फिडेन्सको समस्या सतही हो तर क्रिकेट संरचना ले पर््रदर्शनको लागि मल जल गर्ने काम गर्छ ।

केहि वर्षअघि एशियन क्रिकेट काउन्सिलका डेवलपमेन्ट म्यानेजर बन्दुला वर्नपुरा नेपाल आउँदा क्रिकेट संघ स्थायी सिइओ, म्यानेजर, अकाउन्टेनट राखेर पेशावर हुनु पर्छ भनेर निर्देशन दिएका हुन । झण्डै चार वर्षबितिसक्दा पनि त्यसको कार्यान्वयन भएको पाइन्न ।

क्रिकेट संघ भनेको पनि देश जस्तै हो, जहाँ कार्यसमितिले सरकारजस्तै नीति नियम बनाउछ । ति नीति नियमको पालना र प्रशासन हेर्ने निजामति कर्मचारीझै स्थायी रुपमा निकाय चाहिन्छ । यसले गर्दा कार्यसमितिमा फेरबदल भएपनि क्रिकेट विकासको काम रोकिन्न । सरकार चुस्त छ भने त्यसले आफ्नो कर्मचारीतन्त्र पनि व्यवसायिक राख्छ । यसले सांगठनिक मर्यादा र ज्ञान सँधै रहिरहन्छ ।

नेपाली क्रिकेटको विश्वकप लक्ष्य पनि तत्कालको खेलाडिको प्रदर्शनमा मात्र नभइ, सांगठनिक संरचना कति बलियो छ, त्यसमा निर्भर गर्छ । किनभने टीम वा खेलाडीले र्फम अनुसार प्रदर्शन गर्छ, जुन प्रतियोगिता हुने स्थान, खेलाडिको उपलब्धता, फिटनेस आदिमा भर पर्छ । तर पछाडीको टीम अर्थात संघले खेलाडि निर्माण र सप्लाइ गर्ने काम गर्छ । यसको खेल विकासमा दूरगामी महत्व रहन्छ । नेपाली क्रिकेटको सबैभन्दा राम्रो पक्ष हो टीममा वास्तविक घरेलु खेलाडी हुनु, जुन अरु एशोसिएट राष्ट्रमा छैन ।

नेपाली क्रिकेटका लागि अहिलेको लक्ष्य कसरी एक दिवसीय स्तर प्राप्त गर्ने हुनुर्पर्छ न कि केवल विश्वकप कहिले खेल्ने । एक दिवसीय स्तर खोज्ने हो भने त्यसका लागि चाहिन्छ पुर्वाधार, क्रिकेट प्रतियोगिताको र खेलाडि उत्पादन गर्ने योजनाको ।

प्रतियोगिता-दर-प्रतियोगिताको आधारमा योजना बनाउने हो भने, ५० वर्षअघि शुरु भएको फर्म्याटमा आयोजना हुने क्रिकेट विश्वकपमा सहभागिता सपना मात्र रहने डर हुन्छ । यो सपना नेपाली दर्शकले देखेको त दशकभन्दा बढी भै नै सक्यो ।

PS: २१ वैशाख २०७० मा कान्तिपुर दैनिकको कोसेली मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *