माडिबा म्याजिक

Somesh

सम्भवतः नेल्सन मण्डेलाको यो साता आउने जन्मदिन (‌१८ जुलाइ) दक्षिण अफ्रिकाले मात्र होइन, विश्वले नै मनाउने छ । सम्भवतः समर्थक र पूर्वविरोधीहरुले एक समान रुपमा प्रसंशा गरिने नेतामा अहिलेको विश्वमा मण्डेलामात्र होलान ।

धेरैलाइ स्वीकार्न वा भन्न गार्हो होला, तर सम्भवतः उनको ९६ औं जन्मदिन, जुन आगामी वर्षपर्छ, मनाउन उनी रहने छैनन् । रंगभेद विरुद्धको लडाइ र सफलताका लागि मण्डेलालाइ सम्पूर्ण विश्वले नै दशकौंसम्म विर्सन नसक्ला । तर केहिले उनलाइ सम्झनेछन् उनको खेलप्रेमका लागि । वा अझ भनौं खेलको प्रयोग गरेर राष्ट्र जोड्ने प्रयासका लागि ।

२७ वर्ष जेल बिताएर १९९० मा निस्केका नेल्सन मण्डेला ४ वर्षपछि दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति बने । तर उनले अपुतालीमा पाए, एउटा विभाजित राष्ट्र । दशकौंसम्म रंगभेद नीति बोकेर त्यो नीति छोड्न खोजेको राष्ट्र, जहाँ बाँकि थिए पुर्व शासक र तिनलाइ सिध्याउन चाहने पूर्वशोषित ।

मण्डेला राष्ट्रपति बन्नु केही महिना पुर्व हजारौं अफ्रिकानेर (दक्षिण अफ्रिकामा पहिलो पटक बसोबास गर्न आएका यूरोपियनहरुको वशंज) हतियार बोकेर अफ्रिकन नेशनल कंग्रेसलाइ सत्तामा जान नदिन लडाँइका लागि तैयार थिए । तर त्यो लडाँइ भएन । कारणः मण्डेलाले गोप्यरुपमा हतियारधारी अफ्रिकानेरको मोर्चा, भोक्सफ्रन्टका नेताहरुलाइ चियाका लागि बोलाए । धेरै चरणको चिया गफ पछि भोक्सफ्रन्टका नेताहरुले लडाँइको औचित्य देखेनन् र तत्काल गृहयुद्ध टल्यो ।

मण्डेला राष्ट्रपति भैसकेपछि पनि दक्षिण अफ्रिका पूर्णरुपमा एक भैसकेको थिएन । एकातिर थिए अनगिन्ति अश्वेत जसलाइ पूर्वरंगभेद समर्थकहरु अहिले पनि सत्ताको नजिक हुनु पाच्य थिएन । अर्कोतिर थिए पहिलेदेखि सत्ता भोग गरेका अफ्रिकानेर, जो अहिले सत्ताको नजिक भएपनि नेतृत्वमा नभएकाले खुशी थिएनन् ।

मण्डेला राष्ट्रपति भएको एक वर्षछि दक्षिण अफ्रिकाले रग्बी विश्वकप आयोजना गर्नु थियो । आयोजक दक्षिण अफ्रिकाका लागि ठूलो चुनौति । विभाजित मुलुक र पहिलो चोटी यति धेरै देशका खेलाडीहरुका अगाडि आफ्नो साख राख्नुपर्ने तनाव ।

भनिन्छ, राजनीतिमा चुनौति र अवसर सँगसँगै आउछन्, तपाइ केमा ध्यान दिनु हुन्छ, त्यसले तपाइको नेतृत्व देखाउछ । जुन विश्वकप दक्षिण अफ्रिकाका लागि चुनौति भएर आएको थियो, त्यो मण्डेलाका लागि अवसर थियो । र उनले त्यो अवसर खेर जान दिएनन् । आफूले सत्ता सम्हालेको महिना दिनमै मण्डेलाले दक्षिण अफ्रिकी रग्बी कप्तान, फ्रास्वाँ पीनारलाइ भेट्न बोलाए, चियाका लागि । पीनारले पछि भने पनि, “मलाइ त एक वृद्धसंग कथा सुन्नमा मग्न भएको बालकझैं भएको आभास भयो ।” भन्नु आवश्यक रहेन, पीनार मण्डेलाको योजनामा सामेल भए । दक्षिण अफ्रिकाको राष्ट्रवादलाइ परिभाषित गर्ने महत्वाकांक्षी योजना ।

तर त्यो योजना पुरा हुन त्यति सहज भने पक्कै थिएन । दक्षिण अफ्रिकी टीमलाइ स्प्रीङ्गबोक्स भनिन्थ्यो, र रंगभेद नीतिका कारण यसमा पहिले अश्वेत खेलाडिको लागि स्थान थिएन । त्यसकारण दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय खेल खेल्दा रंगशालामा अश्वेतहरुका लागि छुट्टाइको स्थान (संगभेद नीतिका कारण) सँधै भरिएको हुन्थ्यो, जहाँ बसेर उनीहरु आफ्नै देशको टीम विरुद्ध खेल्ने टोलीको समर्थन गर्थे । दक्षिण अफ्रिकाको पुरानो राष्ट्रगान र पुरानो झण्डा छोडिदिने हो भने, सम्भवतः अश्वेतहरुका लागि स्प्रीङ्गबोक्सको हरियो जर्सी भन्दा मन नपर्ने केही चीज नै थिएन । अफ्रिकन नेशनल कंग्रेसले रंगभेदका कारण दक्षिण अफ्रिकालाइ अन्तराष्ट्रिय खेलहरुबाट बहिष्कार गरिएको कुरा सँधै प्रमुखताका साथ उठाउने गर्थ्यो र बहिष्कारको समर्थन पनि गर्थ्यो ।

रंगभेदको आधिकारिक रुपमा अन्त्य भैसकेको भएपनि, समावेशीको नाममा चेष्टर विलियम्स बाहेक, दक्षिण अफ्रिकाको १९९५ रग्बी विश्वकप टीममा सबै श्वेत खेलाडि मात्र थिए । यस्तो अवस्थामा मण्डेलाको योजना पुरा गर्न सजिलो पक्कै थिएन ।

मण्डेलाले आफै भनेका छन्, “मेरा आफ्नै मान्छेले मेरो खिल्ली उडाए, मैले स्प्रीङ्गबोक्सलाइ र्समर्थन गर्न अनुरोध गरेपछि ।” कतिपयले भनेपनि राष्ट्रपतिजस्ता व्यक्तिले आफ्नो मर्यादाको खयालै नगरि खेलकूदमा धेरै हस्तक्षेप गर्नुहुन्न । तर गोत्रनाम ‘माडिबा’ भएका मण्डेला हार मान्नेवाला थिएनन् । उनलाइ आफ्नो योजनामाथि पूरा विश्वास थियो ।

योजना अनुरुपनै टीमको लागि नारा बन्यो, “एक टीम, एक देश“ । पूरै टीमलाइ नयाँ राष्ट्रगान ‘निकोसी सिकेलेले अफ्रिका’ कण्ठस्थ गराइयो । यो पहिले अश्वेतहरुको विद्रोह गीत हुने गर्थ्यो । राष्ट्रिय टोलिलाइ देश दौडाहा गराइयो, रग्बी क्लीनिक आयोजन गर्न, खासगरी अश्वेत बस्तीहरुमा, बालबालिकाका लागि । कतिपय खेलाडिहरु त यस्तो दौडधूपबाट आजित भएर तालिममा असर परेको गुनासो पनि गर्न लागेका थिए । तर पीनारले मण्डेलाको साथ छोडेनन् ।

विश्वकपको पहिलो म्याचबाट परिवर्तन देखिन शुरु भयो । म्याचअघि स्प्रीङ्गबोक्सका श्वेत खेलाडिहरुका मुखबाट ‘निकोसी सिकेलेले अफ्रिका’ सुनेपछि अश्वेत दर्शकहरु र्समर्थन नगरी रहन सकेनन् । अफ्रिकानेर समुदायका प्रतिनिधिहरुबाट आफ्नो आन्दोलनको गीत र संग दक्षिण अफ्रिकाको पहिलो खेलमै जित, अश्वेत दक्षिण अफ्रिकीहरुमा मण्डेलाले चाहेको प्रभाव ठ्याक्कै पर्‍यो । रग्बीमा कम चासो राख्ने अश्वेतहरु टीमको समर्थनमा जुट्न थाले । दक्षिण अफ्रिका फाइनलमा पुग्यो र परीकथा जस्तै उपाधि पनि जित्यो । विश्वकप अघि, मण्डेला बाहेक सबैलाइ दक्षिण अफ्रिकाले उपाधि जित्ने कुरा हास्यास्पद लागेको थियो, टीमका खेलाडि समेतलाइ ।

खेलकूदमा यदाकदा यस्तो क्षण आउछ, जसलाइ हामीले ऐतिहासिक भनेर सम्बोधन गर्छौ । र त्यसको कारण हुन्छ, केही व्यक्ति विशेषको करिश्मा । नेल्सन मण्डेला फाइनल हेर्न आए, कप्तान फ्रास्वाँ पीनारजस्तै ६ नम्बरको जर्सीमा । केही वर्षघिसम्म मात्र रंगभेदी अफ्रिकानेरको बाहुल्य भएको सरकारले मण्डेलालाइ आतंकवादी भन्ने गर्थ्यो । जोहानर्सबर्गको एलिस पार्क स्टेडियममा त्यो दिन क्षण्डै ९५ प्रतिशत श्वेत दर्शक थिए । अचानक, कसैले चिच्यायो, र सबले साथ दिए “नेल-सन, नेल-सन” ।

स्प्रीङ्गबोक्सले कप जितेपछि, पीनारलाइ कप दिन मण्डेला आए । हात मिलाएर भने, “धन्यवाद फ्रास्वाँ, हाम्रो देशको लागि जे गर्यौ, त्यसका लागि धन्यवाद छ ।”

पीनारको जवाफ थियो, “होइन राष्ट्रपतिज्यू, तपाइलाइ धन्यवाद । तपाइले जे गर्नुभएको छ ।”

पुरै मुलुकलाइ एकजुट गराउने विश्वकप अभियानका कप्तानको त्यो धन्यवाद, सम्भवतः कपको लागि मात्र थिएन ।

(२९ असार २०७० मा कान्तिपुर कोसेलीमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *